काठमाडौँ । सुर्खेतको गुर्भाकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका फिरन्ते राउटे समुदाय फेरि नयाँ गन्तव्यतर्फ सर्ने तयारीमा जुटेका छन्। राउटे मुखिया प्रकाश शाहीका अनुसार समुदाय अब सल्यानतिर जाने तयारीमा रहेको छ।
राउटे समुदायले परम्पराअनुसार आफूहरू बसाइँ सर्ने स्थानबारे बाहिरी समुदायलाई खुलाउने गर्दैनन्। त्यसैले उनीहरू सल्यानको कुन क्षेत्रमा पुग्ने हुन् भन्ने विषय गोप्य राखिएको छ। हाल बस्ती सार्ने अन्तिम तयारी भइरहेको र आवश्यक सामान ओसारपसार गर्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षा भइरहेको मुखिया शाहीले बताए। बिहीबार बस्तीमा पुग्दा अधिकांश राउटे परिवारहरू सामान मिलाउने, बाँध्ने र यात्रा तयारीमा व्यस्त देखिन्थे।