काठमाडौँ । काठमाडौँमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती क्षेत्रमा प्रहरीले पोलेन जस्तो देखिने १२ किलोग्राम पदार्थ बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २० वर्षीय विकास सुनार र सिन्धुलीका ३२ वर्षीय बिनोद अधिकारी रहेका छन्। उनीहरू नयाँबस्तीमा डेरा गरी बस्दै आएका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार छापा मार्ने क्रममा विकासको कोठाबाट १ किलोग्राम र बिनोदको कोठाबाट ११ किलोग्राम शंकास्पद पदार्थ फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।