काठमाडौँ । जुम्लामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् ।
गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढालाई बुधबार बिहान जङ्गली भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर उनी छल्लाटिया खोलानजिकको राष्ट्रिय वन क्षेत्रमा भेडा–बाख्रा चराइरहेका बेला भालुले अचानक आक्रमण गरेको हो । घटनाबारे स्थानीयले प्रहरी चौकी झारज्वालामा जानकारी गराएपछि प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते बुढाको उद्धार गरिएको जनाइएको छ । प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।