काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा ग्यास बुलेटको ठक्करबाट बाबु–छोरीको ज्यान गएको छ ।
हनुमान मन्दिर नजिक विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोरङ ट्राफिक प्रहरीका अनुसार आईसीपीतर्फ मोडिने क्रममा ग्यास बुलेटले साइकलमा सवार विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी १३ वर्षीया छोरी गरिमालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि स्थानीयको भीड जम्मा हुँदा केही समय क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले ग्यास बुलेट र चालक भारतका ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।