काठमाडौँ । चन्द्रागिरी मा एक युवकको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जाकिर मन्सुरी माथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। उनी काठमाडौंको थानकोट खरिबोट क्षेत्रमा डेरा गरी बस्दै आएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले समि अहमद लाई शनिबार राति पक्राउ गरेको जनाएको छ। घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा जाकिर गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो। घाइते जाकिरलाई उपचारका लागि मेडपोइन्ट अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।