काठमाडौँ । विश्वराज पन्थीको बडीमालिका दर्शनका लागि जाने क्रममा मृत्यु भएको छ। बडीमालिकातर्फ जाँदै गरेका भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत ५६ वर्षीय पन्थी बाजुराको बडीमालिका नगरपालिका–८ स्थित खारे जंगल क्षेत्रमा पुगेपछि अचानक बेहोस भएका थिए।
उनीसँगै रहेका साथीहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार पन्थीको शव हाल जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। आफन्त आएपछि पोस्टमार्टम प्रक्रिया पूरा गरेर शव जिम्मा लगाइने बताइएको छ। पन्थीसँगै राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत अन्य कर्मचारीहरू पनि बडीमालिका दर्शनका लागि गएका थिए।