काठमाडौँ । काठमाडौँमा वैदेशिक रोजगारीको नाममा ग्रिस र युएई पठाउने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक र पर्वतका दुई व्यक्ति रहेका छन् । उनीहरूले पीडितबाट ठूलो रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार एकजनाले ग्रिस पठाइदिने भन्दै २३ लाख र अर्काले युएई पठाइदिने भन्दै ३ लाख रुपैयाँ लिएर ठगी गरेका थिए । पक्राउ परेकालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । प्रहरीले आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपर्न र आधिकारिक माध्यमबाट मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । यस्ता ठगीका घटना बढ्दै गएको भन्दै शंका लागेमा तत्काल सम्बन्धित निकायमा उजुरी दिन पनि प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ ।