काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षकहरूको क्षमता विकास र प्रोत्साहनलाई उच्च प्राथमिकतामा राखेको छ। महानगरको शिक्षा विभागका अनुसार चालु आर्थिक वर्षमा मात्रै विभिन्न विधामा गरी कुल १ हजार ४६६ जना शिक्षकहरूलाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरिएको छ। सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने नीति अनुरूप विषयगत र आवश्यकताका आधारमा तालिका बनाएर यी तालिमहरू सञ्चालन गरिएको शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए ।
महानगरले सञ्चालन गरेका तालिमहरूमध्ये सूचना तथा प्रविधि र नयाँ पाठ्यक्रम कार्यान्वयनका क्षेत्रमा शिक्षकहरूको ठूलो सहभागिता रहेको छ। जसअनुसार सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा प्रश्नपत्र निर्माणमा ४६० जना र बाल विकास सहजकर्ता (इसीडी) तर्फ १२४ जना शिक्षक दीक्षित भएका छन्। यस्तै, १३४ जनालाई मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श र १६४ जना सामुदायिक विद्यालयका शिक्षकलाई नेपाल भाषा प्रशिक्षण प्रदान गरिएको छ। संस्थागत विद्यालयका ११६ जना शिक्षकले पनि नेपाल भाषाको तालिम लिएका छन् भने कक्षा ३ सम्मका विद्यार्थीको अपाङ्गता पहिचान गर्ने तालिममा ८३ जना शिक्षक सहभागी भएका छन्।
शिक्षा अधिकारी ढकालका अनुसार शिक्षकहरूको क्षमता विकास गर्ने र उनीहरूले सिकेको ज्ञान, सीप एवं आचरणलाई कक्षाकोठामा प्रभावकारी रूपमा प्रदर्शन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको हो। “शिक्षकको क्षमता विकास र उचित प्रोत्साहनबाट मात्रै सामुदायिक शिक्षामा ठोस सुधार सम्भव छ, त्यसैले हामीले लक्ष्य निर्धारण गरेरै शिक्षकहरूलाई विभिन्न विधामा दक्ष बनाइरहेका छौँ,“ ढकालले बताए । महानगरले तालिमका लागि तोकेको लक्ष्यको नजिक पुग्ने गरी शिक्षकहरूलाई सहभागी गराएको र यसले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।