काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सागर गौतम, शम्भु गौतम र सनम गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार सागर गौतमले यूएई पठाइदिने भन्दै एक जनाबाट ४ लाख ५८ हजार रुपैयाँ, शम्भु गौतमले न्यूजिल्याण्ड पठाइदिने आश्वासनमा १५ लाख ९० हजार रुपैयाँ तथा सनम गुरुङले क्यानडा पठाइदिने भन्दै दुई जनाबाट २४ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ ।