काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्रबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । एकै विद्यालय र एउटै कक्षामा अध्ययन गर्ने विद्यार्थी हराएपछि स्थानीयवासी र परिवारजन चिन्तित बनेका छन् ।
बेपत्ता हुनेमा १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवनकुमार दास सरभंग रहेका छन् । उनीहरू गत वैशाख २८ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । परिवारका अनुसार विद्यालयबाट फर्किएपछि ‘खेल्न जान्छौं’ भन्दै घरबाट निस्किएका बालकहरू साँझसम्म पनि नफर्किएपछि खोजी सुरु गरिएको थियो । आफन्त, साथीभाइ तथा सम्भावित स्थानमा खोजी गर्दा फेला नपरेपछि अभिभावकले इलाका प्रहरी कार्यालय कटहरियामा निवेदन दिएका हुन् ।
परिवारले सकील अन्सारीसँग केही नगद रकम रहेको र उनीहरू भारतको दिल्ली जाने योजना बनाएको हुन सक्ने आशंका गरेको छ । तर प्रहरीले भने यसबारे आधिकारिक पुष्टि गरेको छैन । इलाका प्रहरी कार्यालय कटहरियाका अनुसार तीनै बालकको तस्बिर र विवरण विभिन्न सुरक्षा निकायमा पठाइसकिएको छ । सीमावर्ती क्षेत्र भएकाले भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको जनाइएको छ । प्रहरीले घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको बताउँदै कसैले बालकहरूलाई देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १०० मा जानकारी दिन आग्रह गरेको छ ।