काठमाडौँ । हिमाली जिल्ला डोल्पामा लेक लागेर जुम्लाकी एक युवतीको मृत्यु भएको छ । जुम्ला गुठिचौर गाउँपालिका–१ मणीगाउँकी १७ वर्षीया मन्जली रोकायाको लेक लागेर मृत्यु भएको हो ।
शे–फोक्सुण्डो गाउँपालिकाको भिजेर गाउँतर्फ कामको खोजीमा जाँदै गर्दा काङ्लापास आसपास लेक लागेर उनी बिरामी भएकी थिइन् । उपचारका लागि फोक्सुण्डो स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । स्वास्थ्य चौकीमा पुर्याएपछि अक्सिजन र सीपीआर समेत दिइएको थियो । स्वास्थ्य चौकीका अनुसार उनलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने र बेहोस हुने जस्ता लेक लाग्ने (उचाइ रोग) का लक्षण देखिएका थिए ।
फोक्सुण्डो क्षेत्र समुद्री सतहबाट करिब ३६ सय मिटरभन्दा बढी उचाइमा पर्छ । हिउँद सकिएसँगै यार्चा संकलन तथा पर्यटकीय चहलपहल बढेसँगै यस क्षेत्रमा लेक लाग्ने समस्या देखिन थालेको हो । स्वास्थ्यकर्मीहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा पर्याप्त पानी पिउन, बिस्तारै उचाइमा जान र लेक लाग्ने लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।