काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले एसईई सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। त्यसअनुसार बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको हो।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले परीक्षाफल तयारीको अधिकांश काम सकिएको बताउँदै केही छुटपुट विषय अध्ययन तथा मिलानको काम भइरहेको जानकारी दिए। यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी थिए। गत चैत १९ देखि २९ गतेसम्म एसईई भएको थियो। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ ।
