काठमाडौँ । भारतको तमिलनाडु राज्यमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र र रोचक बन्दै गएको छ। भारतीय राष्ट्रिय कांग्रेसले तमिलगा वेत्री कझगम (टिभिके) र यसको नेतृत्वकर्ता अभिनेता विजयलाई सरकार गठनका लागि औपचारिक रूपमा समर्थन गर्ने घोषणा गरेको छ।
तमिलनाडु कांग्रेसका प्रभारी गिरीश चोडानकरद्वारा हस्ताक्षरित पत्रमा जनताले टिभिकेलाई “स्पष्ट, बलियो र व्यापक” जनादेश प्रदान गरेको उल्लेख गरिएको छ। सोही आधारमा प्रदेश कांग्रेस समिति र कांग्रेस विधानमण्डल दलले टिभिकेको नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने निर्णय गरेको बताइएको छ। तर कांग्रेसले आफ्नो समर्थन बिना सर्त भने नरहने स्पष्ट पारेको छ। पार्टीले संविधानप्रति विश्वास नराख्ने “साम्प्रदायिक शक्तिहरू” लाई कुनै पनि गठबन्धनमा स्थान दिन नहुने शर्त अघि सारेको छ।
कांग्रेसका अनुसार यो सहकार्य केवल सत्ता गठनसम्म सीमित नभई आगामी स्थानीय तह, लोकसभा तथा राज्यसभा निर्वाचनसम्म विस्तार गर्न सकिने सम्भावना पनि छ। राजनीतिक समीकरणअनुसार, पहिलो पटक निर्वाचनमा सहभागी भएको टिभिकेले २३४ सदस्यीय विधानसभा मध्ये १०८ सिट जित्दै उल्लेखनीय प्रदर्शन गरेको छ। बहुमतका लागि आवश्यक ११८ सिटभन्दा १० सिट कम भए पनि टिभिके अब कांग्रेस र वामपन्थी दलहरूको सहयोगमा सरकार गठनको प्रयासमा छ। यसैबीच, तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले टिभिके प्रमुख विजयसँग सरकार गठनसम्बन्धी छलफलका लागि भेट गर्ने तयारी भइरहेको जनाइएको छ।