काठमाडौँ। सिरहामा सोमबार साँझ आएको तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको ज्यान गएको छ। मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको घरको छतमा रहेको इँटाको रेलिङ भत्किएर खस्दा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार हावाहुरीले छतको रेलिङ अचानक ढलेर घरको बरन्डामा बसिरहेकी महराको टाउकोमा लागेको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।