काठमाडौँ। सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। जिल्लाको बागमती नगरपालिका–२ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडक खण्डमा भएको दुर्घटनामा एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ करिब ५ः४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका–२ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारी लाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो। तर पछि उनलाई एल.एस.न्युरो अस्पताल, बारामा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ। चालक गोडैता नगरपालिका–२ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहा लाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।