रुपन्देही । बुटवलमा भेप र हुक्कासहित एक जना पक्राउ परेका छन् । प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्का तथा त्यससँग सम्बन्धित सामग्रीहरू बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उप–महानगरपालिका वडा नं. ११ कालिकानगरस्थित एक गोदामबाट करिब ४३ लाख २१ हजार ५०० रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको हो।
विशेष सूचनाका आधारमा गरिएको उक्त छापाका क्रममा प्रहरीले बुटवल–११ बस्ने ३५ वर्षीय पिडकु जयसवाललाई नियन्त्रणमा लिएको छ। बरामद गरिएका सामग्रीहरूमा हुक्का भेप, कोइला, फ्लेवर, हुक्का सेट, पाइप, चिलिम र हिटर लगायतका १० प्रकारका वस्तुहरू रहेका छन्।
प्रहरीले उनको साथबाट बरामद हुक्का भेप १५७ पिस, हुक्कामा प्रयोग हुने कोइला १४२२ पिस, हुक्का फ्लेवर ५५२ पिस, हुक्का सेट १६० पिस, हुक्का पाइप ६०० पिस, हुक्का चिलिम ७०० पिस बरामद गरेको जनाएको छ ।
पक्राउ परेका जयसवाल र बरामद गरिएका सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।