काठमाडौँ। पेट्रोलको बढ्दो मूल्यबाट बच्न इलेक्ट्रिक स्कुटी प्रयोग गरिरहेका वीरगन्जका एक परिवार गम्भीर दुर्घटनामा परेका छन्। वीरगन्ज महानगरपालिका–१६ नगवाका विशाल सर्राफको घरमा चार्जमा राखिएको ‘टोनमा’ ब्रान्डको इलेक्ट्रिक स्कुटी अचानक पड्किएर आगलागी हुँदा उनीसहित उनका परिवारका चार जना गम्भीर घाइते भएका हुन्।
घाइतेमध्ये उनकी श्रीमती अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर र २ वर्षीया छोरी इशालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ। सर्राफले करिब एक महिना अघि १ लाख ९० हजार रुपैयाँमा खरिद गरेको स्कुटी घरमै चार्जमा राखिएको अवस्थामा राति अचानक आगलागी भएको परिवारले जनाएको छ। घटनापछि सबै घाइतेलाई वीरगन्जस्थित बयोधा अस्पतालको आईसीयूमा उपचार भइरहेको छ भने सानो बालिकालाई एनआईसीयूमा राखिएको छ। परिवारका अनुसार पेट्रोल खर्च बचत गर्न खरिद गरिएको स्कुटीले उल्टै ठूलो दुर्घटना निम्त्याएको छ।
हाल घाइतेको उपचारलाई प्राथमिकतामा राखिएको र पछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ। स्थानीयवासीले पनि यस्तो घटना पछि इलेक्ट्रिक सवारी साधनको सुरक्षाबारे सचेत रहनुपर्ने प्रतिक्रिया दिएका छन्। स्कुटी विक्रेता पक्षले भने प्रारम्भिक रूपमा विद्युत् फ्लक्चुएसनका कारण घटना भएको हुन सक्ने बताउँदै अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ भने सम्बन्धित विक्रेतालाई पनि सोधपुछका लागि बोलाइएको जनाएको छ।