काठमाडौँ । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ स्थित मेरापिक हिमालको बेसक्याम्प आसपासबाट एक १६ वर्षीय युवक बेपत्ता भएका छन् ।
सोताङ गाउँपालिका–२ माझखर्कका गिरीराज राईका छोरा प्रमिस राई सामान पुर्याएर फर्किने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी सनवे होराइजन ट्रेकको सामान बेसक्याम्पसम्म पुर्याएर लुक्ला फर्किने क्रममा हराएका हुन् । साथै गएका २९ वर्षीय राजकुमार राईका अनुसार फर्किने क्रममा माप्य दुधकोशी गाउँपालिका–७ स्थित छतर खोला क्षेत्रमा पुगेपछि अत्यधिक हिमपातका कारण बाटो पहिचान गर्न नसक्दा प्रमिस राई सम्पर्कविहीन भएका थिए । घटनापछि राजकुमार राईले परिवारलाई जानकारी गराएका थिए । त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय सोताङमा निवेदन दिएपछि प्रहरी टोलीले खोजी कार्य सुरु गरेको छ ।