काठमाडौँ। कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन् । पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा भएको दुर्घटनामा भारतको उत्तरप्रदेश बहराइच घर भएका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार इँटा भट्टामा काम गर्ने क्रममा काँचो इँटामा पानी हाल्ने बेला ट्याक्टरले ठक्कर दिएको थियो । घाइते दुवै जनालाई उपचारका लागि धनगढी ल्याइए पनि उनीहरूको मृत्यु भएको हो । साथै, ११ वर्षीय घुर्रा कुमार गम्भीर घाइते भएका छन् र उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो भने चालक घटना लगत्तै फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।