काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट प्रहरीले पेस्तोल, गोली र ठुलो परिमाणमा नियन्त्रित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको विशेष टोलीले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुबास साही रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ३ थान म्याग्जिन र ४ राउण्ड गोली बरामद गरेको छ । यसका साथै उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने २ राउण्ड गोली र १६ हजार ७ सय ५० ट्याब्लेट नियन्त्रित लागूऔषध ’ट्रामाडोल’ समेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । यति ठुलो परिमाणमा हातहतियार र लागूऔषध फेला पर्नुले राजधानीको सुरक्षा व्यवस्थामा नयाँ चुनौती थपिएको संकेत गरेको छ।