काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनीहरूलाई तारकेश्वरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोट घर भई हाल काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय सुमन तामाङ र १९ वर्षीय सुजन लामा रहेका छन् । त्यस्तै, रसुवा घर भई हाल तारकेश्वर–३ बस्ने २५ वर्षीय बसन्त भन्ने पुष्प तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुमन र सुजनलाई बुधबार तथा पुष्पलाई बिहीबार पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार यो समूहले २०८२ फागुन १० गते काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित पार्किङबाट बागमती प्रदेश ०२–०३४ प ७८७ नम्बरको मोटरसाइकल चोरी गरेको थियो । त्यस्तै, गत वैशाख ३ गते तारकेश्वर नगरपालिका–५ फुलबारी गेटबाट बागमती प्रदेश ०२–०२१ प ४१७१ नम्बरको अर्को मोटरसाइकल समेत चोरी भएको थियो ।
यी दुवै घटनाको सुक्ष्म अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।