काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार पौडी खेलिरहेका आरेस लामा अचानक डुबेका थिए। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब १८ फिट गहिराइबाट उनलाई अचेत अवस्थामा फेला पारी उद्धार गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल नं। २४ गण हेडक्वार्टर कालिका गण पोखराका सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माका अनुसार उनलाई तत्कालै उपचारका लागि पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट पठाइएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।