काठमाडौँ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने नारासहित रौतहटको चन्द्रनिगाहपुरमा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । चन्द्रपुर नगरपालिका नगर कार्यपालिकाको आयोजना तथा चन्द्रपुर ई–रिक्सा सङ्घलगायत विभिन्न मजदुर संगठनहरूको सहकार्यमा दिवस सम्पन्न गरिएको हो ।
मजदुर दिवसको अवसरमा बिहान चन्द्रनिगाहपुर बजारदेखि लोकतान्त्रिक चोकसम्म प्रभातफेरी निकालिएको थियो । ‘सबैका लागि सामाजिक न्याय र मर्यादित काम’ भन्ने सन्देशसहित आयोजित र्यालीमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा श्रमिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा समाजसेवी वसन्त आचार्यले मजदुर दिवस मनाउने परम्परा र श्रमिकहरूको वास्तविक जीवन अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले हरेक वर्ष नयाँ नारा तय गरिए पनि त्यसले व्यवहारमा कति परिवर्तन ल्यायो भन्ने मूल्यांकन आवश्यक रहेको बताए । आचार्यले दिनभर कडा परिश्रम गर्दा पनि मजदुरले परिवारको आधारभूत आवश्यकता पूरा गर्न नसक्नु दुःखद पक्ष भएको उल्लेख गर्दै श्रमिकको श्रमको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा अन्य वक्ताहरूले पनि मजदुरको अधिकार संरक्षण, सुरक्षित कार्य वातावरण तथा उचित पारिश्रमिक सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका थिए । साथै, मजदुर दिवस केवल औपचारिक समारोहमा सीमित नभई श्रमिकको जीवनस्तर उकास्ने ठोस योजनासहित मनाउनुपर्ने धारणा व्यक्त गरिएको छ ।