काठमाडौँ । झापाको कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको विद्यालय बस दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्। विद्यापानी माध्यमिक विद्यालयको प्र१–०१–००१ ख ४४८२ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रारम्भिक विवरण अनुसार दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको बसले प्र१–०१–०१३ प ३४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बसमा कुल १८ जना विद्यार्थी सवार थिए, जसमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा मोटरसाइकल चालक कचनकबल–३ का ५२ वर्षीय ओमप्रसाद तिम्सिना पनि घाइते भएका छन्। उनको मुख, टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक घटनास्थलबाट फरार भएको र उनको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।