काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुरामा विद्यालय भर्ना अभियान तीव्र बनाइएको छ। जिल्लाका नौवटै स्थानीय तहअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य पनि सुरु गरेका छन्।
अधिकांश विद्यालयले विद्यार्थी भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन थालेका छन्। यसअघि हरेक वर्ष २ वैशाखदेखि भर्ना अभियान सुरु हुने गरे पनि यस वर्ष सरकारी निर्णयअनुसार १५ वैशाखदेखि अभियान सञ्चालन गरिएको हो। मालिका नमूना माध्यमिक विद्यालयका प्राचार्य शुभराज पाध्यायका अनुसार भर्नासँगै किताब पाउँदा विद्यार्थीको सिकाइ क्षमता बढ्नुका साथै नियमित उपस्थितिमा पनि सकारात्मक प्रभाव पर्नेछ। समयमै पुस्तक पाएपछि पढाइप्रति रुचि बढ्ने र शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
विद्यार्थीहरूले पनि यस वर्ष समयमै किताब पाउँदा खुसी लागेको बताएका छन्। कक्षा १० मा अध्ययनरत विद्यार्थी सुशील थापाले अघिल्ला वर्षहरूमा ढिलो किताब पाउँदा समस्या हुने गरेको स्मरण गर्दै यस पटक सुरुमै पुस्तक पाउँदा अध्ययन सहज हुने बताए। अर्का विद्यार्थी आयुस तिमिल्सिनाले पनि समयमै पाठ्यपुस्तक पाएपछि पढाइमा निरन्तरता र प्रेरणा मिल्ने बताए। सरकारले हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य लिएको थियो। सोहीअनुसार बाजुरासहित सुदूर क्षेत्रका जिल्लामा यस वर्ष समयमा नै किताब पुगेका छन्। जिल्लामा २३७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। शिक्षा विकास तथा समन्वय इकाई बाजुराले भर्नासँगै पाठ्यपुस्तक वितरण हुँदा विद्यार्थीको अध्ययनमा सहजता आउने र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने जनाएको छ। साथै ग्रामीण क्षेत्रमा विद्यालयहरूले घरदैलो अभियान, अभिभावक भेटघाट र प्रचारप्रसारमार्फत विद्यार्थी भर्ना गरिरहेका छन्।