काठमाडौं । जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय ठहर भई कारागारबाट फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–९ मल्म घर भई नवलपरासी पूर्व बस्ने ३१ वर्षीय सञ्जय विक रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विकलाई मंगलबार काठमाडौंको चावहिलबाट नियन्त्रणमा लिएको हो।
सञ्जय विकले २०८० मंसिर ५ गते पोखराको एक होटलमा ३९ वर्षीया सुकु विकलाई जबरजस्ती करणी गरी हत्या गरेका थिए। उक्त घटनामा २०८१ साउन १ गते पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले २०८२ जेठ २६ गते जन्मकैदको फैसला सुनाएको थियो। तर, जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका विक २०८२ भदौ २४ गतेको आन्दोलनको मौका छोपी कारागारबाट भागेका थिए।
कारागारबाट फरार रहेकै अवस्थामा विकले २०८२ चैत २२ गते नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ मा अर्को जघन्य अपराध गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियार प्रहार गरी सुनका गरगहना लुटपाट गरेका थिए। उक्त आक्रमणमा गम्भीर घाइते भएका जिवनराम थनेतको उपचारका क्रममा मृत्यु भएको थियो।
प्रहरीका अनुसार विकलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ। गम्भीर प्रकृतिका शृंखलाबद्ध अपराधमा संलग्न विक पक्राउ परेसँगै थप रहस्यहरू खुल्ने अपेक्षा गरिएको छ।