काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भौतिक आक्रमण गर्न र कालोमोसो दल्न उक्साएको अभियोगमा प्रहरीले देवीप्रसाद संग्रौलालाई पक्राउ गरेको छ। झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल भक्तपुरको मध्यपुर थिमी बस्ने ४५ वर्षीय संग्रौलालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट गेटबाट पक्राउ गरेको हो।
भड्किलो अभिव्यक्ति र अफवाह फैलाएको आरोप
संग्रौलाले सामाजिक सञ्जाल र ‘निगरानी अनलाइन टिभी’ मार्फत विभिन्न जिल्लाहरूमा पुगेर वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिहरूलाई संगठित गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले ऋणीहरूलाई भेला गराई बैंकका कर्मचारी घरमा आएमा लखेट्नु, भौतिक आक्रमण गर्नु र कालोमोसो दल्नु भन्दै भड्किलो अभिव्यक्ति दिने गरेको पाइएको छ।
यसरी विभिन्न किसिमका भ्रमपूर्ण अफवाह फैलाएर सार्वजनिक शान्ति भङ्ग गर्ने कार्यमा संलग्न रहेको अभियोग उनीमाथि लगाइएको छ। पक्राउ परेका संग्रौलालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।