काठमाडौं । वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ घर भएका ४५ वर्षीय हिमहरी अर्याल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार काठमाडौं महानगरपालिका–११ बाट नियन्त्रणमा लिएको हो।
अर्यालले स्लोभाकिया पठाइदिने भन्दै ५ जना पीडितहरूबाट कुल ३ लाख ७५ हजार रूपैयाँ संकलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। रकम लिएपछि उनी पीडितहरूको सम्पर्कबाट बाहिरिएका थिए। आफूहरू ठगिएको थाहा पाएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेका अर्याललाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने यस्ता ठगीका घटनाहरू बढ्दै गएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।