काठमाडौँ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा चट्याङ लाग्दा ३९ वटा बाख्रा मरेका छन्। बुधबार दिउँसो राउते ओडार क्षेत्रमा परेको चट्याङका कारण ठूलो संख्यामा बाख्राको क्षति भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीका अनुसार अपराह्न करिब ४ बजे परेको चट्याङले दुई स्थानीय किसानका बाख्रा घटनास्थलमै मरेका हुन्। प्रहरीका अनुसार स्थानीय सज्जन कडाका ११ वटा बाख्रा मरेका छन् भने १५ वटा हराइरहेका छन्। त्यसैगरी जसबिर रावलका २८ वटा बाख्रा मरेका छन् भने २४ वटा बेपत्ता भएका छन्। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
उक्त बाख्रा स्वामिकार्तिक खापर गाउँपालिका–१ कै रानीसैन वन क्षेत्रमा चराउन लगिएको थियो। पानी परिरहेका बेला चट्याङ पर्दा ठूलो क्षति पुगेको बताइएको छ। एकै पटक यति धेरै बाख्रा मरेपछि स्थानीय किसान चिन्तित बनेका छन्। बाजुरामा मंगलबार मात्रै चट्याङ र पहिरोका कारण १६ वटा भेडाबाख्रा मरेका थिए भने ३८ वटा हराएका थिए। प्राकृतिक विपत्तिका कारण जिल्लामा हरेक वर्ष भेडाबाख्रा मरेर करोडौँ रुपैयाँ बराबरको क्षति हुँदै आएको छ।