काठमाडौँ। चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणका लागि सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिनेछ। यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान सहयोग गर्नेछ। यसअघि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्मको सडक विस्तार सन् २०१९ देखि सुरु भई सम्पन्न भइसकेको छ। सम्झौता कार्यक्रममा मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या छिट्टै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता जनाए। उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा समेत व्यक्त गरे। त्यस्तै, चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन्।