काठमाडौँ ।नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले कर्णाली प्रदेशमा १५औँ प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ ।
मंसिर १३ र १४ गते वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको प्रदेश संयोजक रंगमती शाहीले जानकारी दिएकी छन् ।बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा शाहीले अधिवेशनमा २ हजारदेखि २ हजार ५०० जनासम्म नेता तथा कार्यकर्ता सहभागी हुने अनुमान गरिएको बताइन् । उनका अनुसार अधिवेशनका लागि १ हजार २०० प्रतिनिधि रहेका छन् ।दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा शशांक कोइराला, प्रकाशमान सिंहलगायत पार्टीका नेताहरू पनि सहभागी हुने शाहीले बताइन् ।
अधिवेशनमा सहभागी हुन देउवा मंसिर १२ गते नै सुर्खेत पुग्ने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरस्थित सिटी हलमा अधिवेशन सञ्चालन हुनेछ ।देउवा पक्षले कर्णालीका आठ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । सुर्खेत र डोल्पामा भने अधिवेशन हुन बाँकी रहेको छ ।