काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र भएका अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले वन क्षेत्र, सामुदायिक वन, कुन्जभित्रका सडक तथा खोला–नदी किनार क्षेत्रमा अनधिकृत रूपमा बसोबास र संरचना निर्माण भएको भन्दै ती हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार वन क्षेत्रभित्र बनाइएका घर, टहरा, गोठ, पर्खाल तथा खेतीपातीजस्ता संरचना १५ दिनभित्र खाली गर्नुपर्नेछ। तोकिएको समयभित्र अतिक्रमण नहटाए कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ। निकुञ्ज प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार जरिवाना तथा कैद सजायसमेत हुन सक्ने उल्लेख गर्दै समयमै अतिक्रमण हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।