काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२६ बस्ने दैलेखकी २९ वर्षीया ज्वाला कुमारी चन्द, पोखराकी ३९ वर्षीया भीम कुमारी गुरूङ र काठमाडौँ टोखा बस्ने गोरखाका ३७ वर्षीय भगवानराज मल्ल ठकुरी रहेका छन्।
पक्राउ परेकामध्ये ज्वालाले अजरबैजान पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख ३४ हजार रूपैयाँ, भीम कुमारीले हङकङका लागि ५ लाख रूपैयाँ र भगवानराजले बेलायत पठाइदिने प्रलोभनमा १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको सोही उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले ज्वाला र भीम कुमारीलाई सोमबार काठमाडौँ–२६ बाट र भगवानराजलाई मंगलबार काठमाडौँ–१२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।