काठमाडौँ। सुनको सिक्री लुटपाटमा संलग्न एक गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको पैयुँटार क्षेत्रबाट पक्राउ परेका उनीहरू विभिन्न स्थानमा महिलाको गलाबाट सिक्री थुतेर भाग्ने घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा नुवाकोट र सोलुखुम्बुका १९ देखि ४४ वर्ष उमेर समूहका पाँच जना रहेका छन्।
प्रहरीका अनुसार यो समूहले गत चैत महिनादेखि विभिन्न स्थानमा लुटपाट गर्दै आएको थियो। चैत १२ गते मातातीर्थस्थित फन पार्कमा हिँडिरहेकी एक महिलाको सिक्री मोटरसाइकलमा आएका व्यक्तिहरूले थुतेर फरार भएका थिए। यस्तै, चैत १९ गते नैकापमा ७० वर्षीया महिलाको सिक्री लुटिएको थियो भने वैशाख ६ गते चन्द्रागिरी क्षेत्रमा पनि यस्तै घटना भएको थियो। पक्राउ परेकाहरू सोही श्रृंखलाबद्ध लुटपाट घटनामा संलग्न रहेको प्रहरीले बताएको छ। उनीहरूलाई प्रहरी वृत्त थानकोटको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट १२.९० ग्राम सुन, रेन्ची, खुकुरी, पेचकस लगायतका सामग्री बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।