काठमाडौँ । प्यूठानमा घरायसी विवादका क्रममा पेट्रोल छर्किँदा आगलागी भई बाबु र छोरी गम्भीर घाइते भएका छन्।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानु नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार घरायसी विवादका क्रममा सानु नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए। सोही क्रममा छोरी अञ्जलीले उनलाई रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र त्यसैबेला आगो सल्किँदा दुवै जना जलेर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घाइते दुवैलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ। उनीहरूको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।