काठमाडौँ। बाजुरामा भैँसी चराउन गएका एक बालकको ज्यान गएको छ। जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धस्थित मुनातोला लेकमा १२ वर्षीय खड्क बडुवालको मृत्यु भएको हो।
स्थानीयका अनुसार भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधेर अर्को छेउ आफ्नो खुट्टामा बाँधेका थिए। त्यसपछि भैँसी एक्कासी दौडिएर भाग्दा बालक लडेर घिस्रिन पुगेका थिए। सोही क्रममा टाउकोमा गम्भीर चोट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ। मृतकका आफन्त युवराज बडुवालका अनुसार खड्क मामा घरमा बस्दै आएका थिए भने उनका आमाबुबा रोजगारीका लागि भारतमा रहेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताएका छन्।