काठमाडौँ। सुनकोशी नदी मा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष पाँच दिनपछि मृत अवस्थामा फेला परेका छन् । मृतक शमशेर राई रहेको प्रहरीले जनाएको छ । उनी लिम्चुङबुङ गाउँपालिका–४ जाँते निवासी ५१ वर्षीय पुरुष हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार राई गत मङ्गलबार गाउँका साथीहरूसँग माछा मार्न गएको बेला दिउँसो करिब ३ बजे नदीमा बेपत्ता भएका थिए । त्यसपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी अभियान सञ्चालन गरेको थियो । खोजतलासकै क्रममा शनिबार साँझ रौतामाई गाउँपालिका भदौरे स्थित सुनकोशी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईं ले जानकारी दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।