काठमाडौँ। कर्णाली प्रदेश मा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा २४ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । प्रदेशका आठ जिल्लामा रहेका ९० वटा परीक्षा केन्द्रमार्फत विद्यार्थीहरू परीक्षामा सहभागी भएको जनाइएको छ ।
महेश देवकोटा का अनुसार यस वर्ष नियमिततर्फ १७ हजार १२५ र आंशिकतर्फ ७ हजार २९२ जना गरी कुल २४ हजार ४१७ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका अनुसार रुकुम पश्चिम र सल्यान जिल्लाको परीक्षा व्यवस्थापन दाङ स्थित बोर्ड कार्यालयले हेर्ने भएकाले बाँकी आठ जिल्लाको समन्वय तथा निर्देशन सुर्खेत स्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले गरिरहेको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै परीक्षार्थी सुर्खेत बाट ८ हजार १११ जना सहभागी भएका छन् भने सबैभन्दा कम डोल्पा बाट ६०६ जना सहभागी भएका छन् ।परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन ९० जना केन्द्राध्यक्ष, १८० जना सहायक केन्द्राध्यक्ष, ६१२ जना निरीक्षक, ९० जना कर्मचारी, १८० जना सहयोगी कर्मचारी तथा ९०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।