दाङ । दाङमा अवैध हातहतियार र वन्यजन्तुको मासुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बबई गाउँपालिका–५ खएर भट्टी बस्ने ५० वर्षीय नोखिराम खड्कालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा खड्काको घर नजिकै रहेको गोठमा छापा मार्दा उक्त हतियार र मासु फेला पारेको थियो। प्रहरीले उनको साथबाट १ थान भरुवा बन्दुक र २ किलो मृगको मासु पनि बरामद गरेका प्रहरीले जनाएको छ ।
पक्राउ परेका खड्कालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। वन्यजन्तुको अवैध शिकार र अवैध हतियार राखेको कसुरमा उनलाई कानुनी कारबाही गरिने जनाइएको छ।