काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट १ हजार ३ सयभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन्। शैक्षिक सत्र २०८२ अन्तर्गत २०८३ वैशाख १४ गतेदेखि सुरु हुने परीक्षामा कुल १ हजार ३८४ विद्यार्थी सहभागी हुने भएका हुन्।
शिक्षा विकास तथा समन्वय इकाई बाजुराका अनुसार जिल्लाभर ८ वटा परीक्षा केन्द्र तोकिएको छ, जहाँ करिब ३० वटा विद्यालयका विद्यार्थीहरूले परीक्षा दिनेछन्। भावोदय मावि नौविस परीक्षा केन्द्रबाट १२४ जना, मालिका नमुना मावि मार्तडीबाट २२१ जना, जनप्रकाश मावि कोल्टीबाट ३८६ जना विद्यार्थी सहभागी हुनेछन्। त्यस्तै स्वामिकार्तिक मावि वाई केन्द्रबाट २००, मष्टेश्वरी मावि डोगडीबाट ६०, किर्तिचौर मावि कालादहबाट ८३, तोली देवलडाँडा माविबाट ११७ र कैलाश मावि महती परीक्षा केन्द्रबाट १९३ जना परीक्षार्थी सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन सबै तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ।