काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–२७, असन बस्दै आएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ क्यानखोलाका २१ वर्षीय सविन नेपालीलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी समाचार कक्षकाअनुसार, पक्राउ परेका नेपालीले बुधबार राति काठमाडौँ महानगरपालिका–१९, न्यूरोड रामघाटस्थित गल्लीमा एक पीडित व्यक्तिलाई कुटपिट गरी लुटपाट गरेका थिए। सो घटनाको भोलिपल्टै बिहीबार बिहान उनले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबु चोकमा रहेको ग्लोबल आईएमई बैंकको एटीएम मेसिन तोडफोड गरेका थिए।
दुवै घटनाको सूचना पाएलगत्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणको आधारमा उनलाई काठमाडौँ–२६ को सामाखुशी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका नेपालीलाई थप कानुनी अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ। सार्वजनिक स्थलमा लुटपाट र बैंकको एटीएम तोडफोडजस्ता आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि कडा कारबाहीको तयारी भइरहेको छ।