काठमाडौँ । रौतहटको परोहा नगरपालिकास्थित नेपाल–भारत सीमाबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको बोइलर कुखुरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
परोहा–८ नरकटिया क्षेत्रबाट अवैध रूपमा भित्र्याइँदै गरेका १३४ वटा (करिब ४०२ केजी) कुखुरा सशस्त्र सीमा सुरक्षा गुल्म गौरको टोलीले बरामद गरेको हो। बिहीबार राति करिब ९: ४० बजे विओपी सरमुजवाबाट खटिएको गस्ती टोलीले भारतबाट झोलामा बोकेर ल्याउँदै गरेको अवस्थामा कुखुरा नियन्त्रणमा लिएको जनाएको छ। बरामद कुखुरा शुक्रबार बिहान स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र भद्रभलाद्मीको उपस्थितिमा खाल्डो खनेर पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीका डिएसपी प्रेमसागर विष्टका अनुसार सीमाक्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा पारिएको छ। उनले यस्ता सामग्री नष्ट गर्दा गैरकानुनी कारोबारमा संलग्न व्यक्तिलाई निरुत्साहित गर्न मद्दत पुग्ने बताए।