काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्।
शुक्रबार बाराको बम नहर रोडस्थित थलही पुलमा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ। दुर्घटनापछि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर उद्धार कार्यमा सहयोग गरेका थिए। एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो।
अस्पताल स्रोतका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ भने चिकित्सकहरूले थप परीक्षण गरिरहेका छन्। उक्त सडकखण्डका पुलहरू जीर्ण र असुरक्षित रहेको भन्दै स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन्। मर्मत नहुँदा यस्ता दुर्घटना दोहोरिने गरेको भन्दै सम्बन्धित निकायप्रति असन्तोष बढेको छ। यता, सामाजिक सञ्जालमा क्रिकेटर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरूले सन्देश व्यक्त गरिरहेका छन्।