काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूमा सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
केन्द्रले जारी गरेको परिपत्रमा केही निजी प्रकाशकहरूले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो प्राप्त भएको उल्लेख छ ।
नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले निर्देशन दिएको छ ।त्यस्तै, पछिल्लो समय विद्यालयहरूले आफैँले वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक र स्टेशनरी सामग्री बिक्री(वितरण गर्ने गरेको पाइएको भन्दै केन्द्रले यस्ता कार्य तत्काल रोक्न भनेको छ ।
केन्द्रले स्थानीय तहहरूसँग समेत समन्वय गरी विद्यालयहरूमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने प्रकाशक वा विद्यालयलाई कानुनी दायरामा ल्याई सोको जानकारी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।