काठमाडौँ । सार्वजनिक शिक्षामा लगानी अभिवृद्धि र नीति तहमा ध्यानाकर्षण गराउने उद्देश्यसहित शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ले ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६’ आजदेखि सुरु गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले विश्वका १५० भन्दा बढी देशमा एकैसाथ सार्वजनिक शिक्षा सम्बन्धी सचेतना तथा वकालतमूलक गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिएको हो । अभियानका अनुसार वैशाख १४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रमको मूल नारा ‘शिक्षामा पर्याप्त लगानीका लागि अभियानको ज्योति बालिराखौँ’ रहेको छ । यस अवधिमा शिक्षा क्षेत्रका समस्या उजागर गर्दै नीति निर्मातालाई आवश्यक दवाब सिर्जना गर्ने लक्ष्य राखिएको छ । नेपालको संविधानले आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई निःशुल्क हुने मौलिक हकका रूपमा सुनिश्चित गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा अपेक्षित प्रगति नभएको अभियानले जनाएको छ ।
सरकारले कुल राष्ट्रिय बजेटको १५ देखि २० प्रतिशत तथा कुल गार्हस्थ्य उत्पादनको ४ देखि ६ प्रतिशत शिक्षामा लगानी गर्ने प्रतिबद्धता जनाएको भए पनि त्यो लक्ष्यअनुसार कार्यान्वयन कमजोर रहेको अभियानको भनाइ छ ।कार्यक्रम अन्तर्गत विभिन्न चरणमा गतिविधि सञ्चालन गरिनेछ । वैशाख ७ गते पत्रकार सम्मेलन, वैशाख ८ गते नागरिक भेला तथा प्रदर्शनी कार्यक्रम, र वैशाख ११ गते नव निर्वाचित जनप्रतिनिधि, राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय तथा अन्य सरोकारवालासँग अन्तरक्रिया गर्ने योजना रहेको छ । त्यस्तै, अभियान अवधिभर विभिन्न एफएम रेडियोमार्फत जनचेतनामूलक सन्देश प्रसारण गरिनेछ भने सामाजिक सञ्जालमार्फत शिक्षा सम्बन्धी जानकारीमूलक सामग्री र अभियान सञ्चालन गरिने बताइएको छ । अभियानले संघीय, प्रादेशिक र स्थानीय तह सबैले सार्वजनिक शिक्षा सुदृढीकरणका लागि लगानी वृद्धि गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।