काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ सम्पन्न भएको एक साताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारिएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखभित्रै नतिजा प्रकाशन गर्ने लक्ष्यसहित काम अगाडि बढाएको जनाएको छ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण अधिकांश जिल्लामा सकिएको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार अब केही जिल्लाको मात्रै उत्तरपुस्तिका आउन बाँकी रहेको छ भने अहिले अंक संकलन, कम्पाइल र मार्कसिट इन्ट्रीको काम भइरहेको छ। सरकारको निर्देशनअनुसार यस वर्ष एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको हो। यसअघि एसइईको नतिजा प्रकाशनमा करिब तीन महिना लाग्ने गरेको थियो।
छिटो नतिजा निकाल्न बोर्डले प्रत्येक जिल्लाका परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्रका रूपमा प्रयोग गरेको थियो। यसका लागि तोकिएको समयसीमाभित्र उत्तरपुस्तिका परीक्षण र मार्कस्लिप संकलनको काम सम्पन्न गरिएको जनाएको छ। हाल नतिजा तयारीका लागि परीक्षा बोर्डबाट करिब ४० जना कर्मचारी खटिएको जानकारी दिइएको छ। यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए।