धनगढी। कैलालीको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिकसत्रबाटै पठनपाठन सुरू हुने भएको छ ।
बुधबार विश्वविद्यालयको सभाले विभिन्न संकायमा अध्यापनको निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ ।
विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिने उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीले जानकारी दिएका छन् ।
बैठकले ५० जना एमबिबिएस, ३० जना बीएसी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी गरिने भएको छ ।
विश्वविद्यालयमा तीन सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी पनि अघि बढाइएको छ ।
सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलब बापत ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ । आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिएको छ । यसअघि विश्वविद्यालयका तीन वटा बैठक काठमाडौंमा बसेका थिए भने पहिलो पटक गेटामै बैठक सम्पन्न भएको हो ।