काठमाडौँ । एउटा विद्यालयमा एक पटक भर्ना भएपछि पटक–पटक भर्ना शुल्क असुल गर्न नपाइने भएको छ । निजी विद्यालयहरुले प्रत्येक वर्ष भर्ना तथा वार्षिक शुल्क भन्दै विद्यार्थीबाट शुल्क लिदै आएका छन् ।
त्यस्तो अवस्थाबारे अनुगमन गरी आवश्यक परे कारवाही गर्नका पत्राचार गरिदिन शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।
शिक्षा मन्त्रालयले केहि विद्यालयहरुले शैक्षिक सत्र शुरु नहुदै विद्यार्थी भर्ना गरेको र विद्यार्थी भर्ना बापत अग्रिम शुल्क असुल गरेको भनि विभिन्न माध्यमबाट आएका सूचना एंवं गुनासोहरु प्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले विद्यार्थीहरुबाट अग्रिम शुल्क असुल गरिएको साथै स्वीकृत भएको भन्दा बढि शुल्क लिइएको, तोकिएको शीर्षकमा भन्दा फरक शीर्षकमा शुल्क लिइएको, एउटै विद्यालयमा एक पटक भर्ना भए पश्चात पनि पटक पटक भर्ना शुल्क लिइएको आदि जस्ता गुनासो आएको जनाएको छ ।
