काठमाडौँ । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।
यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्राथमिकता रहेको छ । उनले मन्त्रालयको निर्देशन र विद्यार्थीको हितलाई ध्यानमा राख्दै हामीले यस पटक सम्बन्धित जिल्ला वा क्षेत्रकै परीक्षा केन्द्रलाई आधार मानेर परीक्षण केन्द्र कायम गर्ने निर्णय गरेको बताए ।
यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा काम छिटो सकिने बोर्डले अपेक्षा गरेको छ ।