काठमाडौँ। देशभर चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को लागि बाजुरा जिल्लामा सबै तयारी पूरा भएको छ। शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस वर्ष जिल्लाभरबाट नियमित तर्फ २ हजार १२६ र ग्रेडबृद्धि तर्फ ३०० गरी कुल २ हजार ४२६ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षाका लागि जिल्लामा १७ वटा केन्द्र तोकिएका छन्।
परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीहरू व्यवस्थित गरिएका छन्। केन्द्राध्यक्षका लागि अभिमुखिकरण तालिम दिइसकिएको छ। साथै परीक्षा स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सञ्चालन गर्न सबै तयारी पूरा गरिएको छ। सुरक्षा व्यवस्थालाई कडा बनाउँदै परीक्षा केन्द्रमा कसैले पनि नियम उल्लंघन गरे कारवाही गरिने शिक्षा कार्यालयले जनाएको छ। उत्तरपुस्तिका, प्रश्नपत्र लगायतका सबै परीक्षा सामग्री जिल्लामा पुगेको छ। स्मरणीय छ, गत वर्ष २०८१ सालमा बाजुरामा २ हजार २१६ परीक्षार्थी सहभागी भएमा १ हजार १९९ जना उत्तीर्ण भएका थिए। २०८० सालमा २ हजार ८३४ परीक्षार्थी सहभागी हुँदा १ हजार ५ जना मात्र उत्तीर्ण भएका थिए।